Section 8A
राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार
यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त राष्ट्रिय समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः– (क) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा अपनाउनु पर्ने नीति तयार गरी नेपाल सरकार समक्ष पेश गर्ने, (क१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी राष्ट्रिय तथा क्षेत्रगत जोखिम मूल्याङ्कन सम्बन्धी कार्यको सहजीकरण तथा समन्वय गर्ने र जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि आवश्यक नीतिगत तथा अन्य उपयुक्त व्यवस्था गर्ने वा गराउने, (ख) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा नेपाल सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने वा गराउने, (ग) नेपाल सदस्य भएको अन्तर्राष्ट्रिय संघ संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा तयार गरेको मापदण्ड वा नीति आवश्यकता अनुसार कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने, (घ) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित निकायलाई निर्देशन दिने र सो निर्देशन बमोजिमको कार्य भए नभएको अनुगमन गर्ने, (ङ)   सम्बद्ध निकाय, नियमनकारी निकाय तथा वित्तीय जानकारी इकाईले आफूले सम्पादन गरेका काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल गरी आवश्यक समन्वय गर्ने, (च) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा सम्बन्धित विषयमा नेपाल सरकारले तोकिदिएको अन्य कार्य गर्ने वा गराउने ।